दफा
होर्डिङ बोर्डबाट विज्ञापन गर्न अनुमतिपत्र लिनु पर्ने
(१) सार्वजनिक स्थलबाट देखिने गरी होर्डिङ्ग बोर्ड राख र त्यसमा विज्ञापन गर्न चाहने व्यक्तिले सम्बन्धित स्थानीय तहबाट अनुमतिपत्र लिनु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफ्नो पेशा वा व्यवसाय गर्ने घर वा कार्यालयको परिसरभित्र सार्वजनिक सडक वा जग्गामा बाधा नपर्ने वा सर्वसाधारणको सुरक्षामा असर नपर्ने गरी आफ्नो पेशा वा व्यवसायका सम्बन्धमा यस ऐनको प्रतिकूल नहुने गरी तोकिएको आकारमा नबढ्ने गरी होर्डिङ्ग बोर्ड राखी विज्ञापन गर्न बाधा पर्ने छैन ।
(३) उपदफा (१) बमोजिम होर्डिङ्ग बोर्डबाट विज्ञापन गर्न चाहने व्यक्तिले अनुमतिपत्रको लागि सम्बन्धित स्थानीय तहको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम प्राप्त निवेदन उपर आवश्यक जाँचबुझ गरी स्थानीय तहको कार्यालयले यस ऐन तथा प्रचलित कानून बमोजिम होर्डिङ्ग बोर्डबाट विज्ञापन गर्ने अनुमतिपत्र दिन मनासिब देखेमा अनुमतिपत्र दिनेछ। त्यसरी अनुमतिपत्र प्राप्त व्यक्ति वा संस्थाले अनुमतिपत्रमा उल्लिखित अवधि समाप्त भएपछि त्यस्तो होर्डिङ्ग बोर्ड हटाउनु पर्नेछ।
(५) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा होर्डिङ्ग बोर्डबाट त्यस्तो बिज्ञापन गर्न अनुमतिपत्र दिन सकिने छैनः-
(क) यस ऐन वा प्रचलित कानून प्रतिकूल हुने विज्ञापन भएमा,
(ख) सर्वसाधारणलाई आवतजावत गर्न बाधा वा असुविधा हुने भएमा,
(ग) शहर बा स्थानको प्राकृतिक सौन्दर्यमा प्रतिकूल असर पर्ने भएमा,
(घ) धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा विश्वसम्पदा सूचीमा सूचिकृत स्थानहरुको मौलिक संस्कृति तथा प्राकृतिक सौन्दर्यमा प्रतिकूल असर पर्ने भएमा,
(ङ) सडक पेटी तथा सार्वजनिक स्थानमा प्रतिकूल असर पर्ने भएमा,
(च) विद्युत, टेलिफोन लगायतका खम्बामा त्यस्तो बोर्ड राख्ने विषयमा,
(छ) सवारी आवागमनमा असर पर्ने भएमा,
(ज) कुनै घरको झ्याल, ढोका छेकी त्यस्तो घरमा हावा र घाम आउन बाधा पुग्ने भएमा,
(झ) स्थानीय कानूनमा तोकिएको अन्य व्यवस्थाको प्रतिकूल हुने गरी ।
(६) होर्डिङ्ग बोर्ड राखे अनुमतिपत्रको लागि दिने निवेदन, निवेदन साथ संलग्न गर्नु पर्ने विवरण तथा कागजात, दस्तुर तथा त्यस्तो अनुमतिपत्रको अवधि तथा तत्सम्बन्धी अन्य व्यवस्था स्थानीय तहको कानून बमोजिम हुनेछ ।